वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्राविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । केही साताअघि जेन–जीको सरकारमा स्वास्थ्य मन्त्री बन्ने चर्चामा रहेकी मिश्राविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दाको फाइल पेश गरेको हो ।
अख्तियार स्रोतका अनुसार, “विशेष अदालतमा भर्खरै आरोपपत्र पेश भइसकेको छ, फाइल रुजु गरी दर्ता गर्ने प्रक्रिया चलिरहेको छ,” भनिएको छ।
डा. मिश्राले स्वास्थ्य सचिव बन्ने आकांक्षा राखेकी थिइन् । तर सरकारले उनको साटो डा. विकास देवकोटालाई स्वास्थ्य सचिव नियुक्त गरेपछि उनी बिदामा बसेकी थिइन् ।
जेन–जी आन्दोलनपछि नयाँ सरकार गठन भएपछि उनी मन्त्रालय जान थालेकी थिइन् । सोही क्रममा स्वभाविक स्वास्थ्यमन्त्रीका रूपमा उनको नाम चर्चामा आएपछि उनले राजीनामा दिएकी थिइन् ।
अख्तियारका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्की निकट संयन्त्रलाई “डा. मिश्रामाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको र केही दिनमै भ्रष्टाचार मुद्दा दर्ता हुन सक्ने” जानकारी गराएको बताइन्छ । सो जानकारी सार्वजनिक भएपछि मन्त्री बन्ने उनको चर्चा एकाएक रोकिएको थियो ।
स्वास्थ्य सेवा विभागकी महानिर्देशक रहँदा औषधि तथा उपकरण खरिदसम्बन्धी अनियमितता भएको फाइलमा आधारित रहेर अख्तियारले डा. मिश्राविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
