वीरगञ्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अविरल वर्षाका कारण देशभर बाढी, पहिरो, डुबान र नदी कटानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बाराको विश्रामपुर गाउँपालिका–८ बरैनियामा सोमबार आयोजित आजपाको विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै अध्यक्ष साहले बाढीपहिरोबाट प्रभावित नागरिकहरूलाई तत्काल राहत, क्षतिपूर्ति र क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण गर्न सरकारलाई आग्रह गरेका हुन्।
उनले बाढीपहिरोका कारण ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताहरूको खोजी कार्य तीव्र बनाउन तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे।
साहले पहाडदेखि तराई–मधेशसम्मका नागरिक बाढीपहिरोले प्रभावित भएको उल्लेख गर्दै, विशेषगरी तराई–मधेशका जनता डुबान र नदी कटानबाट अत्यधिक पीडित भएको बताए। उनले सडकसहितका भौतिक पूर्वाधारको पुनर्निर्माणमा ढिलाइ नगर्न र किसानले भोग्नुपरेको क्षतिको उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरे।
