आज:  | Fri, 29, May, 2026

पिएसएल उपाधि लाहोर कलान्डर्सको पोल्टामा, कुशल परेरा र सिकन्दर राजाको ऐतिहासिक प्रदर्शन

दिशा निर्देश May 26, 2025 मा प्रकाशित (१ साल अघि)

पाकिस्तान – कुशल परेरा र सिकन्दर राजाको शानदार ब्याटिङ प्रदर्शनको बलमा लाहोर कलान्डर्सले क्वेटा ग्लाडियटर्सलाई ६ विकेटले पराजित गर्दै पाकिस्तान सुपर लिग (पिएसएल)को उपाधि जितेको छ।

२०२ रनको विशाल लक्ष्य पछ्याएको लाहोरले अन्तिम तीन ओभरमा ४७ रन आवश्यक पर्ने दबाबमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै एक बल बाँकी रहँदा ४ विकेटको क्षतिमा २०३ रन बनाउँदै उपाधि उचालेको हो। यो रन पछ्याउँदै उपाधि जित्ने पिएसएलको अहिलेसम्मकै सबैभन्दा ठूलो रनचेज हो।

विजयी टोलीका लागि कुशल परेराले ३१ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६२ रनको योगदान दिए। अर्का नायक सिकन्दर राजाले ७ बलमा अविजित २२ रन बनाउँदै टोलीलाई जितको किनारमा पु¥याए। उनले खेलको अन्तिम दुई बलमा १० रन प्रहार गर्दै रोमाञ्चक जित दिलाएका हुन्।

विशेष कुरा त के छ भने, राजा फाइनल खेलको टस हुनुअघि मात्र पाकिस्तान पुगेका थिए। पाकिस्तान आउनुभन्दा २४ घण्टाअघि मात्र उनले इंग्ल्यान्डको टेन्ट ब्रिजमा टेस्ट खेल्दै जिम्बाबेका लागि अर्धशतक प्रहार गरेका थिए।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको क्वेटा ग्लाडियटर्सले ९ विकेटको क्षतिमा २०१ रन बनाएको थियो। टोलीका लागि हसन नवाजले अविजित रहँदै ४३ बलमा ७६ रन बनाए भने फहिन अस्रफले ८ बलमा २८ रनको योगदान दिए।

सानदार प्रदर्शनका आधारमा सिकन्दर राजा ‘म्यान अफ द म्याच’ घोषित भए भने हसन नवाज ‘प्लेयर अफ द सिरिज’ घोषित भए।


सम्बन्धित खबरहरु