आज:  | Fri, 29, May, 2026

पाकिस्तानले मोबाइल एसियन सोडाउन २०२५ को उपाधि जित्यो

दिशा निर्देश May 11, 2025 मा प्रकाशित (१ साल अघि)

काठमाडौं २८ बैशाख : तीन दिने अन्तर्राष्ट्रिय इ-स्पोर्ट्स प्रतियोगिता ‘मोबाइल एसियन सोडाउन २०२५’ को उपाधि पाकिस्तानले जितेको छ। इस्पोर्ट्स एसोशियसन नेपाल (इएसएएन) को आयोजनामा सम्पन्न प्रतियोगितामा १४ देशका टिम सहभागी थिए।

पाकिस्तानले इन्डोनेसियालाई कडा प्रतिस्पर्धामा पछाडि पार्दै उपाधि हात पार्‍यो। १५ खेलमध्ये ४ पटक चिकन डिनर जित्दै पाकिस्तानले कुल १७३ अंक जोडेर शीर्ष स्थान हासिल गर्‍यो। इन्डोनेसिया ३ चिकन डिनरसहित १६९ अंकमा दोस्रो स्थानमा रह्यो।

आयोजक राष्ट्र नेपालबाट तीन टोलीले प्रतिस्पर्धा गरेका थिए। तीमध्ये नेपाल निलोले शानदार प्रदर्शन गर्दै १५४ अंकसहित तेस्रो स्थान प्राप्त गर्‍यो। नेपाल निलोले ४ पटक चिकन डिनर जित्न सफल भयो। नेपाल रातोले ११८ अंक जोड्दै चौथो स्थान हासिल गर्‍यो भने मलेसिया ११२ अंकसहित पाँचौँ र जोर्डन ९० अंकसहित छैटौँ स्थानमा रहे।

प्रतियोगिताका उत्कृष्ट खेलाडीको उपाधि पाकिस्तानी खेलाडी ‘फाल्का’ ले प्राप्त गरे। उनले उत्कृष्ट प्रदर्शनका लागि ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

टिमतर्फ पाकिस्तानले उपाधिसहित ४ लाख रुपैयाँ जित्यो। दोस्रो स्थानमा रहेको इन्डोनेसियाले २ लाख, तेस्रो नेपाल निलोले १ लाख ५० हजार, चौथो नेपाल रातोले १ लाख, पाँचौँ मलेसियाले ५० हजार र छैटौँ जोर्डनले पनि ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।


सम्बन्धित खबरहरु