काठमाडौं । काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु भएको छ । सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट चलचित्रको शुभ–मुहूर्त गर्दै छायांकन थालिएको हो ।
ठूलो लगानी र नाम चलेका कलाकारहरूको समिश्रण रहेकाले यो चलचित्रलाई यस वर्षको प्रतीक्षित फिल्मका रूपमा हेरिएको छ ।
क्यामेरा पूजा गर्दै छायांकन थालिएको सिनेमाको पहिलो दिनको सेड्युलमा चलचित्रका मुख्य कलाकारहरूको उपस्थिति रहेको थियो ।
चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) रहनेछन् । यी कलाकार नै यो चलचित्रका मुख्य पात्र हुन् । ‘पाँच पाण्डव’को भूमिकामा यी कलाकार रहनेछन् ।
चलचित्रको शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै धार्मिक वा पौराणिक कथामा आधारित सिनेमा भने होइन । निर्माण पक्षका अनुसार यो पूर्ण रूपमा एक ‘सोसल ड्रामा’ (सामाजिक कथा) हो । चलचित्रमा महाभारतका पाँच पाण्डवको बिम्बलाई प्रयोग गर्दै समकालीन समाजको कथा भन्न खोजिएको छ ।
निर्माणपक्षले दिएको जानकारी अनुसार ‘पाँच पाण्डव’को महिला पात्रमा दीपाश्री निरौला र जनी गुरुङ रहने छन् ।
चलचित्रलाई निर्देशक वसन्त निरौलाले निर्देशन गर्दैछन् । नेपाली फिल्म क्षेत्रमा सफल पटकथा लेखकको पहिचान बनाएका सुशील पौडेलले यसको कथा, पटकथा तथा संवाद लेखेका हुन् । पौडेल यसअघि समीक्षक र दर्शक दुवैले रुचाएको चर्चित फिल्म ‘प्रसाद’का लेखक हुन्, जसका कारण ‘पाँच पाण्डव’को कथावस्तु पनि बलियो हुने अपेक्षा गरिएको छ ।
