आज:  | Fri, 29, May, 2026

पर्सामा भूमिहीनलाई लालपुर्जा वितरण प्रक्रिया अघि बढ्यो, ठोरीमा अन्तरक्रिया सम्पन्न

दिशा निर्देश August 16, 2025 मा प्रकाशित (९ महिना अघि)

वीरगन्ज। भूमि समस्या समाधान आयोग, पर्साले ठोरी गाउँपालिकामा भूमिहीन र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण प्रक्रिया अघि बढाएको छ। सोही सन्दर्भमा ठोरी गाउँपालिकाको आयोजनामा शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा आयोगका अध्यक्ष तबरेज अहमदले व्यक्तिगत स्वामित्वको जग्गामा मात्र लालपुर्जा दिइने बताए। क्लब, मन्दिर, गुम्बाजस्ता सामूहिक वा संस्थागत जग्गा भने हाललाई लालपुर्जाबाट बाहिर राखी फिल्डबुकमा मात्र लगत राखिने उनको भनाइ थियो।

उनका अनुसार फिल्ड नापअनुसार क्षेत्रफल निर्धारण गरिनेछ र निस्सामा भएको उल्लेख अन्तिम मानिने छैन, आवश्यक परेमा संशोधन हुने व्यवस्था रहनेछ। हुलाकी सडकको मापदण्डअनुसार कटाइपछिको बाँकी जग्गामा मात्रै लालपुर्जा दिइने जानकारी पनि उनले दिए।

अहमदले राजस्वको दरसम्बन्धी प्रष्ट पारे। उनका अनुसार १७ सय वर्गमिटरभित्रको कृषि जग्गामा मूल्यांकनको ५ प्रतिशत र आवासीय जग्गामा १० प्रतिशत राजस्व लाग्नेछ। तर, मूल्यांकनबारे आधिकारिक सूचना आयोगले नै प्रकाशित गर्ने भएकाले अफवाहमा नपर्न उनले आग्रह गरे।

यस्तै, निस्सा नलिएका वा अंशबण्डा नभएका जग्गाधनीलाई नयाँ दर्ता प्रक्रिया सुरु गर्न आग्रह गर्दै उनले केन्द्रीय भूमि आयोगले अन्तिम पटकको लागि ३५ दिने सूचना जारी गरेको जानकारी पनि दिए।

ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले लालपुर्जा वितरणलाई राजनीतिक स्वार्थभन्दा माथि राखेर अगाडि बढाउने प्रतिबद्धता जनाए। अघिल्लो सरकारले अधुरो छाडेको काम पूरा गर्ने जिम्मेवारी आएको भन्दै उनले जनताको साथ र विश्वास मिले यो पटक लालपुर्जा वितरण सम्पन्न गर्ने दृढता व्यक्त गरे।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गोकुली कुमारी रेग्मी, सबै वडाध्यक्षहरू, कार्यपालिका सदस्य, भूमि आयोगका प्रतिनिधि तथा सयौं स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।


सम्बन्धित खबरहरु