आज:  | Fri, 29, May, 2026

नेपाल महिला क्रिकेट टोली ऐतिहासिक सफलता लिएर स्वदेश फिर्ता, ग्लोबल क्वालिफायरमा पहिलोपटक स्थान

दिशा निर्देश May 22, 2025 मा प्रकाशित (१ साल अघि)

वीरगंज– आईसीसी महिला टी–२० क्रिकेट विश्वकपको एशिया छनोट प्रतियोगितामा ऐतिहासिक सफलता हात पार्दै नेपाली राष्ट्रिय महिला टोली स्वदेश फर्किएको छ। टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्का र प्रवक्ता छुम्पी लामा‌ले स्वागत गरे।

टोलीको स्वागत गर्न चोटका कारण प्रतियोगिताबाट बाहिर रहेकी सीता राना मगर तथा पूर्ब राष्ट्रिय खेलाडी करुणा भण्डारीसमेत विमानस्थल पुगेका थिए। उनीहरूले खेलाडीहरूसँग खुसी साटे र सफलताको बधाई दिए।

थाइल्यान्डमा सम्पन्न प्रतियोगितामा नेपालले सुपर थ्री चरणमा यूएईलाई ५ विकेटले पराजित गर्दै पहिलोपटक आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर मा स्थान सुरक्षित गरेको हो। तीन समूहबाट छानिएका नेपाल, थाइल्यान्ड र यूएईबीच भएको सुपर थ्रीमा शीर्ष दुईमा पर्न सफल नेपाल र आयोजक थाइल्यान्ड ग्लोबल चरणका लागि छनोट भए।

यद्यपि, उपाधिका लागि भएको फाइनल खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको थियो।

कप्तान इन्दु बर्माले १८ वर्षपछि आएको यो सफलता खेलाडीहरूको निरन्तर मेहनत र पछिल्लो समय भएका आलोचनाहरूको सकारात्मक प्रतिफल भएको बताइन्।

अब नेपालले ग्लोबल क्वालिफायर मा अन्य ९ राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछ। सहभागी १० टोली दुई समूहमा विभाजित हुनेछन् र प्रत्येक समूहका शीर्ष दुई टोलीले २०२६ को जुनमा इङ्गल्याण्डमा हुने टी–२० विश्वकप मा स्थान बनाउनेछन्।


सम्बन्धित खबरहरु