वैशाख २६,काठमाडौँ — नेपाली महिला क्रिकेट टोलीले महिला टी–२० विश्वकप २०२६ को एशिया क्षेत्रीय छनोट अन्तर्गत आज आफ्नो पहिलो खेल खेल्दैछ। प्रतियोगिता थाइल्यान्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा बिहान पौने ९ बजे हङकङसँग हुनेछ।
थाइल्यान्डमा आयोजना हुने यस छनोट प्रतियोगितामा नेपालसहित आयोजक थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएई गरी कुल ९ टोली सहभागी छन्।
नेपाल समूह ‘सी’ मा हङकङ र बहराइनसँग रहेको छ। समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड छन् भने समूह ‘बी’ मा मलेसिया, कतार र यूएई रहेका छन्। प्रत्येक समूहका टोलीहरूले एकअर्काविरुद्ध दुई–दुई पटक खेल्नेछन्। समूह विजेताहरू सुपर थ्री चरणमा पुग्नेछन्। सुपर थ्रीको शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ।
नेपाल र हङकङबीचको पछिल्ला पाँच टी–२० खेलमध्ये नेपालले दुईमा जित निकाल्दा हङकङले पनि दुई जित दर्ता गरेको छ। एक खेल वर्षाका कारण रद्द भएको थियो।
