वीरगन्ज । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै एक वर्ष कैद र ३ करोड ४५ लाख रुपैयाँभन्दा बढी जरिवाना तोकेको छ।
अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापाले गैरकानूनी ढंगले सम्पत्ति बढाएको प्रमाणित भएको ठहर गर्दै कैदसहितको सजाय सुनाएको हो।
अदालतका अनुसार थापा र उनका परिवारको आय–व्यय विश्लेषण गर्दा आयभन्दा ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ पैसा बढी सम्पत्ति फेला परेको छ।
अदालतले बिगोअनुसारको जरिवाना मात्र होइन, अतिरिक्त रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्नसमेत आदेश दिएको छ।
