आज:  | Sat, 09, May, 2026

नागपञ्चमी प्राकृतिक सहअस्तित्व र सन्तुलनको स्मरण हो : प्रधानमन्त्री ओली

Avatar photo दिशा निर्देश १४ श्रावण २०८२, मंगलवार ११:०२ मा प्रकाशित (९ महिना अघि)

वीरगञ्ज, साउन १३ – प्रधानमन्त्री केपी शर्मा ओलीले नागपञ्चमी पर्वलाई प्रकृति संरक्षण र मौसमी सन्तुलनको प्रतीकका रूपमा स्मरण गरेका छन्। उनले जलवायु परिवर्तनका कारण विश्व समुदाय नै संकटमा परेको वर्तमान परिस्थितिमा यस्ता मौलिक पर्वहरूको सन्देश अझ सान्दर्भिक रहेको उल्लेख गरेका छन्।

नागपञ्चमीकाे अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यो पर्वले मानव र अन्य जीवबीचको सहअस्तित्व, पानी, माटो र मौसमको सन्तुलनप्रतिको चेतना उजागर गर्ने बताएका छन्। उनका अनुसार, हाम्रा पुर्खाले प्रकृतिका सबै जीवप्रति श्रद्धा राख्ने संस्कार दिएका थिए, जसले नकारात्मक ऊर्जा हटाउने विश्वास समेत गरिन्छ।

उनले भनेका छन्, “नागपञ्चमी प्रकृतिसँग हाम्रो सम्बन्ध झल्काउने अवसर हो। आजको दिन घरको मूल ढोकामा नागको चित्र टाँसेर दूध, अक्षता, दुबो र फूल चढाउने चलन छ, जसले केवल परम्परा होइन, प्रकृति संरक्षणप्रतिको हाम्रो दायित्व पनि सम्झाउँछ।”

प्रधानमन्त्री ओलीले प्रकृतिको संरक्षण गर्न नसक्दा आज हामी जलवायु परिवर्तनको प्रत्यक्ष असर भोग्न बाध्य भएका छौं भन्दै यस्ता पर्वहरूलाई जीवनशैलीमै समावेश गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।


सम्बन्धित खबरहरु