आज:  | Fri, 29, May, 2026

थाइल्यान्डमाथि नेपालको लगातार दोस्रो जित

दिशा निर्देश November 10, 2024 मा प्रकाशित (१ साल अघि)

यूएईमा जारी आईसीसी यू–१९ महिला विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले थाइल्यान्डमाथि लगातार दोस्रो जित हात पारेको छ। आइतबार भएको खेलमा नेपालले थाइल्यान्डलाई १ सय ६ रनले हराएको हो।

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो। नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १६ ओभरमा ३३ रन बनाउँदा अलआउट भयो।

थाइल्यान्डलाई कम स्कोरमा रोक्न प्लेयर अफ दि म्याच समेत बनेकी कुसुम गोदारले ३ विकेट लिइन्। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै ९ रन खर्च गरिन्।

रिया शर्मा र रचना कुमारी चौधरीले समान २ विकेट लिए। पुजा महतोले एक विकेट आफ्नो नाममा गरिन्। थाइल्यान्डका कोरानितले बनाएको ६ रन नै सर्वाधिक रह्यो। अन्य तीन खेलाडीले समान ५ रन बनाए। ६ ब्याटर शुन्य रनमा नै पेभेलियन फर्के।

त्यसअघि अजमानस्थित दि सेभेन स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको थियो। नेपालकी सना प्रविनले अर्धशतक पूरा गरिन्। उनले ४६ बलमा ७ चौका सहयोगमा ५३ रन बनाइन्। सावित्री धामीले २८ रन थपिन्। सोनी पाख्रीन १९ रनमा रनआउट भइन्।

नेपालले मंगलबार कुवेतसँग पुनः खेल्नेछ। नेपालले कुवेतमाथिको पहिलो खेलमा १ सय ८ रनको फराकिलो जित निकालेको थियो। तेस्रो खेलमा भने नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो।

चार टोली सहभागी छनोटमा हरेक टोलीले ६ खेल खेल्नेछन्। डबल लिग फम्र्याटमा हुने लिगपछि शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू१९ विश्वकपमा स्थान बनाउनेछन्।

एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाउनेछ। यू–१९ विश्वकप जनवरी १८ देखि फेब्रअरी २ सम्म मलेसियामा हुनेछ।


सम्बन्धित खबरहरु