आज:  | Fri, 29, May, 2026

थाइल्याण्डविरुद्ध नेपालको उपाधि आशा: जितका लागि १५९ रनको चुनौती

दिशा निर्देश May 20, 2025 मा प्रकाशित (१ साल अघि)

वीरगंज ६, जेठ — आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ‘सुपर थ्री’ को निर्णायक खेलमा थाइल्याण्डले नेपाललाई जितका लागि १५९ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

थाइल्याण्डले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा २ विकेट गुमाएर १५८ रनको बलियो स्कोर खडा गर्‍यो। थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले विस्फोटक ब्याटिङ गर्दै अविजित ५० रन बनाइन्। उनले २८ बलमा अर्धशतक पूरा गर्दै आक्रामक खेल प्रदर्शन गरिन्।

ओपनर नताया बूचाथामले पनि समान ५० रनको योगदान दिइन् भने अफिसरा सुवानचोनराथीले २९ रन बनाइन्। नेपालका लागि मनिषा उपाध्याय र राजमती ऐरीले समान १–१ विकेट लिए।

नेपाल र थाइल्याण्ड दुवै टोलीले यसअघि नै ग्लोबल छनोटका लागि स्थान सुरक्षित गरिसकेका छन्। तर आजको खेलको विजेताले एसिया छनोटको उपाधि जित्नेछ।

नेपालले सोमबार यूएईलाई पराजित गर्दै पहिलो पटक एसिया छनोट पार गर्दै विश्वकप ग्लोबल छनोटमा स्थान बनाएको हो। उता थाइल्याण्डले आइतबार यूएईमाथि जित निकाल्दै सुपर थ्रीमा आफ्नो स्थान सुरक्षित गरेको थियो।

थाइल्याण्ड प्रतियोगिताको अब्बल टोलीका रूपमा उभिएको छ। समूह चरणमा उसले दुई खेल जितेको थियो भने दुई खेल वर्षाका कारण रद्द भएका थिए। सुपर थ्री अन्तर्गत यूएईलाई पनि सहजै पराजित गर्दै अपराजित यात्रालाई निरन्तरता दिएको छ।

नेपालले भने अहिलेसम्म थाइल्याण्डविरुद्ध महिला टी-२० अन्तर्राष्ट्रियमा एकपटक पनि जित निकाल्न सकेको छैन। आजको खेल त्यस पर्खाइको अन्त्य हुने कि भन्ने अपेक्षा गरिएको छ।


सम्बन्धित खबरहरु