वीरगञ्ज । नेपाली कांग्रेसका युवा नेता राकेश यादव मितवा र नेपाल विद्यार्थी संघ पर्साको टोलीले जिल्ला प्रशासन कार्यालयमा पुगेर एक महत्वपूर्ण विषयमा ध्यानाकर्षण गराएका छन् । टोलीले विशेष गरी ग्रामीण क्षेत्रका ७० प्रतिशत जनताका लागि दैनिक आवत–जावतको महत्वपूर्ण माध्यम रहेको तिलावे पुल भत्किने अवस्थामा रहेको हुँदा मर्मत गर्न उनीहरुले ध्यानाकर्षण गराएका हुन् ।
उनीहरूले पुलको दुरावस्थाबारे जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई जानकारी गराउँदै, छिटोभन्दा छिटो मर्मतका लागि पहल गर्न आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारीले सम्बन्धित निकायलाई खाल्डा परेको स्थानमा ग्रेवल हालेर पुलको अस्थायी मर्मत गर्न निर्देशन दिने प्रतिबद्धता जनाएका छन् ।
राकेश यादव मितवाले यसअघि पनि तिलावे पुलको मर्मत र निर्माणको माग गर्दै महिनौँसम्म आन्दोलन गरेका थिए । उक्त पूललाई पर्सा जिल्लाको “लाईफ लाइन“ मानिन्छ ।
