आज:  | Fri, 29, May, 2026

डा. विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नरमा नियुक्त, आज सपथपछि पदभार ग्रहण गर्दै

दिशा निर्देश May 21, 2025 मा प्रकाशित (१ साल अघि)

काठमाण्डौ — नवनियुक्त गभर्नर प्राध्यापक डा. विश्वनाथ पौडेलले आज पदभार ग्रहण गर्दै हुनुहुन्छ। उहाँलाई आज बिहान सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।

सपथपछि गभर्नर पौडेल दिउँसो राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गर्नुहुनेछ।

गभर्नर चयनका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित समितिले हिजो डा. पौडेल, कार्यवाहक गभर्नर नीलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो। सोही दिन साँझ बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो।

झन्डै डेढ महिना लामो सत्ता साझेदार दलहरूबीचको रस्साकस्सीपछि राष्ट्र बैंकमा गभर्नर नियुक्त भएको हो। राष्ट्र बैंकका १८औँ गभर्नरका रूपमा नियुक्त हुनुभएका डा. पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत हुनुहुन्छ।

वर्तमान अर्थतन्त्रले सामना गरिरहेको चुनौतीहरूबीच गभर्नर बनेका डा. पौडेलका सामु वित्तीय प्रणालीमा स्थिरता ल्याउने, मौद्रिक नीतिलाई प्रभावकारी बनाउने र राष्ट्र बैंकको गिरेको छवि सुधार्ने जस्ता महत्वपूर्ण जिम्मेवारी रहेका छन्।

सत्ता साझेदार नेपाली कांग्रेस र एमालेबीचको अविश्वासको गाँठो केही हदसम्म खुकुलो बनाउने संकेतसमेत गभर्नर नियुक्तिलाई विश्लेषकहरूले गरेका छन्।

गभर्नर पौडेलले आफ्नो प्राथमिकता मौद्रिक नीति तथा त्यसका उपकरणमार्फत अर्थतन्त्रको सुधारलाई अघि बढाउने रहेको बताउनुभएको छ।


सम्बन्धित खबरहरु