अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच चाँडै वार्ता हुने र युद्ध अन्त्य हुने घोषणा गरेका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई घण्टा लामो टेलिफोन वार्तापछि ट्रम्पले उक्त जानकारी दिएका हुन्। उनले पुटिनसँगको संवाद ‘सौहार्दपूर्ण र सकारात्मक’ भएको उल्लेख गर्दै युद्ध अन्त्यका लागि दुवै पक्षबीच प्रत्यक्ष वार्ता आवश्यक रहेकोमा जोड दिए।
पुटिनले पनि ट्रम्पसँगको कुराकानीमा युक्रेनसँग शान्ति वार्ता गर्न तयार रहेको बताएका छन्। यद्यपि उनले युरोपेली देशहरू र अमेरिकाले प्रस्ताव गरेका ३० दिने युद्धविरामबारे भने कुनै टिप्पणी गरेका छैनन्।
यसबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका अहिलेको संवेदनशील अवस्थामा पछि हट्न नहुने बताएका छन्। उनले बारम्बार स्थायी शान्तिको प्रस्ताव अघि सारेको स्मरण गराउँदै रुसले त्यसलाई अटेर गरे कडा प्रतिबन्धको सामना गर्नु पर्ने चेतावनी पनि दिएका छन्।
पुटिनसँगको वार्ताअघि ट्रम्पले जेलेन्स्कीलाई ‘युक्रेनसम्बन्धी कुनै पनि निर्णय पूर्व सल्लाहमै गरिने’ बताएका थिए। जेलेन्स्कीले पनि वार्तामा उठाइएका प्रस्तावहरू आधिकारिक रूपमा पेस भएपछि मात्रै आफ्नो धारणा स्पष्ट हुने बताएका छन्।
सामाजिक सञ्जालमार्फत ट्रम्पले शान्तिको सम्भावना देखिएको भन्दै निर्णायक वार्तामा अमेरिका तथा केही युरोपेली मुलुकहरू संलग्न हुने बताएका छन्।
