आज:  | Fri, 29, May, 2026

जेलको भित्तामा रविको सन्देश: अब कृष्ण जन्मिने छैन, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ

दिशा निर्देश August 17, 2025 मा प्रकाशित (९ महिना अघि)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही कारागारमा आफ्नो १२६ दिनको बसाइ सकेर काठमाडौं सरुवा हुनु अघि एउटा सन्देश छोडेका छन्।

कृष्ण जन्माष्टमीकै दिन उनले बस्ने कोठाको भित्तामा “अब कृष्ण जन्मिने छैन, जन्मिसकेकाले नै कृष्ण बन्नुपर्नेछ” भन्ने दार्शनिक वाक्य लेखेर गएको कुरा आफैंले बताएका हुन्।

शनिबार भैरहवामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा प्रवक्ता मनिष झाले र उपसभापति डा. स्वर्णिम वाग्लेले विमानस्थलमा उनलाई छोटो भेट गरेका थिए।

भेटमा लामिछानेले आफू कुनै राजनीतिक प्रतिशोधको डरमा नरहेको उल्लेख गर्दै भने, “मलाई जहाँ राखे पनि यो मेरो देश हो, मेरो भूमि हो। यदि मंगल ग्रहमा पठाए पनि म डराउँदिन।”

विमानस्थलमा भेट्दा उनी आत्मविश्वासी र उज्यालो अनुहारसहित देखिएको प्रवक्ता झाको भनाइ छ। लामिछानेले १२६ दिनको कारावास अवधिभर सहयोग गर्ने स्थानीय जनता, सुरक्षाकर्मी र प्रशासनप्रति आभार प्रकट गरेका थिए।

साथै, आफ्ना विरोधीलाई संकेत गर्दै उनले भने, “४६३ दिनअघि प्रमाण छ भनियो, मैले प्रमाण माग्दा बल प्रयोग देखाइयो। म न्याय माग्दा संयन्त्रले प्रतिशोध देखायो। तर म डग्मगाएको छैन।”

शनिबार साँझ उनलाई काठमाडौं ल्याई ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिएको हो।


सम्बन्धित खबरहरु