आज:  | Fri, 29, May, 2026

जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त असहाब आलमलाई वीरगञ्जमा भव्य अन्तिम विदाई

दिशा निर्देश September 13, 2025 मा प्रकाशित (८ महिना अघि)

वीरगञ्ज । काठमाडौंमा जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली लागी सहादत प्राप्त गरेका वीरगञ्ज–१२ मुर्लीका २२ वर्षीय असहाब आलमको शनिबार गृह नगरमा अन्तिम दाह संस्कार गरिएको छ।

शुक्रबार राति काठमाडौंबाट मुर्लीस्थित घरमा ल्याइएको आलमको शव शनिबार बिहान जनाजा–शवयात्रा निकालेर मुर्ली पोखरी नजिकैको कब्रिस्तानमा मुस्लिम परम्पराअनुसार अन्त्येष्टि गरिएको हो। जनाजा र अन्तिम संस्कारमा मुस्लिम समुदायसँगै हिन्दु धर्मावलम्बी पनि हजारौँको संख्यामा सहभागी भएका थिए।

दुई महिनाअघि मात्रै वैवाहिक जीवनमा बाँधिएका आलमले गत मंगलबार काठमाडौंमा भइरहेको जेन–जीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका थिए। विगत तीन वर्षदेखि अध्ययन तथा रोजगारीको सिलसिलामा काठमाडौं बस्दै आएका उनी पठाओ राइडरको काम पनि गर्थे।

प्रदर्शन भइरहेको बेला एक यात्रुलाई गोङ्गबु पुर्याउने क्रममा प्रहरीले चलाएको गोली पेट र छातीमा लागेर आलमको मृत्यु भएको वीरगञ्ज–१२ का पूर्व वडाध्यक्ष तुफान अन्सारीले जानकारी दिए। मंगलबार बिहान १० बजेदेखि सम्पर्कविहीन बनेका आलमको शव पछि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भेटिएको थियो।

ग्लोबल बिजनेस कलेज, वीरगञ्जबाट व्यवस्थापन संकायमा कक्षा १२ उत्तीर्ण गरेका आलम उच्च अध्ययनका लागि काठमाडौं गएका थिए। त्यहाँ उनले पढाइसँगै पठाओ राइडरको काम गर्दै आएका थिए।


सम्बन्धित खबरहरु