वीरगञ्ज । जनमत पार्टी वीरगञ्ज महानगर समितिको विस्तारित बैठक आज जिल्ला पार्टी कार्यालयमा सम्पन्न भएको छ। जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले दिएको जानकारी अनुसार, बैठकले आगामी १४ दिनभित्र पार्टी अध्यक्ष डा. सिके राउतको उपस्थितिमा हुने एक भव्य कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।
बैठकले यही वैशाख २७ गते जिल्लाका विभिन्न स्थानमा तय गरिएको कार्यक्रमलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ। जनमत पार्टी पर्साका अध्यक्ष सर्राफले वैशाखको अन्तिम साता जिल्लाका विभिन्न पालिकाहरूमा आयोजना गरिने कार्यक्रमहरूको व्यवस्थापन र तयारीका सम्बन्धमा आज सामूहिक छलफल भएको बताए।
पार्टीका अनुसार, उक्त कार्यक्रममा अध्यक्ष डा. राउतको आमसभा हुनेछ भने जिल्लाका नेता कार्यकर्ता र सर्वसाधारणसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ।
महानगर अध्यक्ष महादेव शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्यहरू रम्भा मिश्र, अनुराग द्विवेदी, अनिता रौनियार, नजमा खातुनसहित वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडाका इकाई अध्यक्षहरूको सहभागिता रहेको थियो।
