आज:  | Fri, 29, May, 2026

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव सुदृढ पार्छ : राष्ट्रपति पौडेल

दिशा निर्देश October 27, 2025 मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपाली समाजको राष्ट्रिय एकता र आपसी सद्भावलाई थप सुदृढ पार्ने विश्वास व्यक्त गरेका छन्।

छठ पर्व–२०८२ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गर्दै सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु।”

राष्ट्रपतिले छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको यात्रामा थप ऊर्जा प्रदान गर्ने विश्वास समेत व्यक्त गरेका छन्।

उनका अनुसार सूर्य, जल र पृथ्वीप्रति श्रद्धा राख्दै छठी माताको पूजा, अर्चना र व्रत गरी रातभर खोला, पोखरी तथा तलाउकिनारमा जाग्राम बसी धूमधामका साथ यो पर्व मनाउने परम्परा छ।

राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भनेका छन्, सूर्यविना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन र श्रद्धासाथ कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म जल प्रवाह हुने स्थलमा रहेर अस्ताउँदो र उदाउँदो सूर्यलाई दूधको अर्घ्य अर्पण गरी यो पर्व मनाउनाले मानिसमा प्रकृतिप्रतिको दायित्व, पर्यावरणीय चेतना तथा पारिवारिक र सामाजिक ऐक्यबद्धताको भावना बलियो बनाउने देखिन्छ।”

धार्मिक विश्वासअनुसार छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल प्राप्त हुने, परिवारमा कल्याण हुने र जीवनका दुःख कष्ट हटेर शुभ फल प्राप्त हुने मान्यता छ।


सम्बन्धित खबरहरु