आज:  | Fri, 29, May, 2026

ग्लास्गोमा आज नेपाल र स्कटल्याण्ड आमनेसामने, १२ वर्षपछि टी-२० मा भिडन्त

दिशा निर्देश June 17, 2025 मा प्रकाशित (११ महिना अघि)

बिरगञ्ज— स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत नेपालले आज दोस्रो खेलमा आयोजक स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल ग्लास्गोस्थित स्थलमा नेपाली समय अनुसार साँझ पौने ८ बजेदेखि सुरु हुनेछ।

नेपाल र स्कटल्याण्डबीच यो टी–२० अन्तर्राष्ट्रिय (टी–२०आई) फर्म्याटमा पहिलो भेट हो। यद्यपि, दुबै टोली १२ वर्षअघि सन् २०१३ मा युएईमा आयोजित टी–२० विश्वकप छनोट प्रतियोगितामा आमनेसामने भएका थिए, जसमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो।

त्यसपछिको समयमा नेपालले टी–२०आई मान्यता पाएपनि स्कटल्याण्डसँग पुनः यो फर्म्याटमा प्रत्यक्ष प्रतिस्पर्धा भएको थिएन। त्यस अर्थमा, आजको खेल ऐतिहासिक पनि हुनेछ।

स्कटल्याण्डका तर्फबाट सन् २०१३ मा खेलेका माइकल लिस्क र सफयान शरिफ अहिले पनि टोलीमा समावेश छन्। सोही समयका रिची बेरिङटनले पछिल्लो एकदिवसीय शृंखलामा भाग लिएपनि यसपटकको टी–२० टोलीमा स्थान पाएका छैनन्।

नेपालले यसअघि शृंखलाको पहिलो खेलमा नेदरल्याण्ड्ससँग रोमाञ्चक भिडन्त खेलेको थियो। तीनवटा सुपर ओभरसम्म पुगेको खेलमा नेपाल अन्ततः पराजित भएको थियो। सोही खेलमार्फत नेपालले आफ्नो १००औं टी–२०आई खेल पनि पूरा गर्‍यो। किरण ठगुन्ना र रुपेश सिंहले क्रमशः ५०औं र ५१औं खेलाडीको रूपमा टी–२० डेब्यू गरेका थिए।

शृंखलाको पहिलो खेलमा स्कटल्याण्डले भने नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गर्दै सकारात्मक सुरुआत गरेको थियो।

अब आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण हुनेछ—नेपाल पहिलो जितको खोजीमा छ भने स्कटल्याण्ड आफ्नो विजयी लय कायम राख्न चाहन्छ।


सम्बन्धित खबरहरु