आज:  | Fri, 29, May, 2026

गाेल्डेन हत्या प्रकरणः ‘खुनी दरिन्दे समुह’का थप एक सदस्य पक्राउ

दिशा निर्देश October 7, 2025 मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज । वीरगञ्जको दशैं मेलामा अष्टमीको रात (असोज १४ गते) दुई समूहबीच भएको झडपमा एक युवकको हत्या गर्ने ‘खुनी दरिन्दे समुह (ग्याङ)’ का थप एक जना सदस्य पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्सा जिल्लाको पकहाँ मैनपुर गाउँपालिका–१ धोरे निवासी, हाल वीरगञ्जमा बस्दै आएका अन्दाजी १६ वर्षीय अंशु गिरी रहेका छन्। घटना लगत्तै फरार रहेका गिरीलाई भारतमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरी मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सा ल्याएको हो।

यसअघि, सोही घटनामा संलग्न ५ जनालाई प्रहरीले असोज १५ गते पक्राउ गरी असोज १६ गते पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो। तीमध्ये मुख्य आरोपी पर्सा वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल (करण प्रसाद पटेल), २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन्।

असोज १४ गते राति करिब ११:३० बजे वीरगञ्ज–१० गीतामन्दिर रोडमा दुई समूहबीचको कुटपिटका क्रममा बाराको परवानीपुर गाउँपालिका–९ निवासी, हाल वीरगञ्ज–१० बसोबास गर्ने २० वर्षीय गोल्डेन भन्ने शिवम कुमार साह कानुको मृत्यु भएको थियो।

अनुसन्धानका क्रममा हत्या ‘खुनी दरिन्दे समुह’ नामक ह्वाट्सएप समूहमार्फत संगठित युवाहरुले गरेको पत्ता लागेको प्रहरी उपरीक्षक सुदीपराज पाठकले असोज १६ गतेको पत्रकार सम्मेलनमा खुलासा गरेका थिए।

प्रहरीका अनुसार, घटनामा संलग्न अन्य केही व्यक्तिहरुको पनि पहिचान भइसकेको छ भने उनीहरुको खोजी कार्य जारी छ।


सम्बन्धित खबरहरु