कृयाशील युवा पत्रकार मञ्च, नेपाल पर्साद्वारा आयोजित रक्तदान कार्यक्रममा ६ महिलासहित ५२ जनाले रक्तदान गरेका छन्। संस्थाका अध्यक्ष प्रणय कुमार साह, उपाध्यक्ष आनन्द पटेल, कोषाध्यक्ष उपेन्द्र कुमार बरै, तथा सदस्यहरू कन्हैया कुमार बर्णवाल र राजेश दासले पनि यस अवसरमा रक्तदान गरे।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले कार्यक्रममा शुभकामना व्यक्त गर्दै, रक्तसंचार केन्द्रमा रगतको कमी देखेर संस्था द्वारा गरिएको यो रक्तदान कार्यक्रम सराहनीय भएको बताए। उनले यस संस्थाले पत्रकारितासँगै सामाजिक कार्यमा पनि सक्रिय सहभागिता देखाउँदा आफू खुशी लागेको र यस्ता समाजिक कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
पहिलोपटक रक्तदान गर्दै सहभागी भएकी सोनी दासले यस अवसरमा अत्यन्त खुसी महसुस भएको बताइन्। उनले सामाजिक कार्यमा पुरुषसँगै महिलाको सहभागीता पनि महत्वपूर्ण रहेको औँल्याइन्।
उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष अनिल अग्रवालले पनि संस्थाको सामाजिक कार्य आम सर्वसाधारणको हितमा रहेको भन्दै प्रशंसा गरे। उनले भविष्यमा पनि यस्ता समाजसेवामा मञ्चले निरन्तरता दिनुपर्ने सल्लाह दिए।
अध्यक्ष प्रणय कुमार साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव श्याम बन्जारा, उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष अनिल अग्रवाल, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युराज खड्का, जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सरार्फ, समाजसेवी नन्दकिशोर गोयल, प्रकाश थारु, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरीक्षक निरोज चौलागाई, श्रीपुरका प्रहरी निरीक्षक श्याम कुमार बस्नेतलगायत संस्थाका सदस्यहरू ओमप्रकाश सरार्फ, मुकेश कुमार यादव, दीपेश ठाकुर, उपेन्द्र पटेल, र सुनिल ओझा सहभागी थिए।
कार्यक्रमको सहजीकरण संस्थाका महासचिव बिरेन्द्र साहले गरेका थिए।
