काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनै जिल्लाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको छ। जेनजीको आन्दोलनलाई लक्षित गर्दै काठमाडौँ, ललितपुर र भक्तपुरले कर्फ्यु घोषणा गरेका हुन्।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ महानगरपालिकाभित्रको चक्रपथ क्षेत्रमा आज बिहान ८ः३० बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी छलिलाल रिजालका अनुसार, आदेशअनुसार बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामङ्गल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु हुँदै वाग्मती नदी पुलसम्मका क्षेत्रभित्र कुनै व्यक्तिले आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न पाउने छैन।
ललितपुरमा पनि आज बिहान ७ः०० बजेदेखि राति १२ः०० बजेसम्म कर्फ्यु आदेश लागू गरिएको छ। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चारकिल्ला तोकी सो सीमाभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न रोक लगाइएको छ।
भक्तपुरमा भने आज बिहान ८ः३० बजेदेखि अनिश्चितकालीन कर्फ्यु लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा मध्यपुर थिमी, सूर्यविनायक, चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाभित्र कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाइने व्यवस्था गरिएको उल्लेख छ।
