इलाम । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले कोशी प्रदेशमा ठूलो मानवीय क्षति पुर्याएको छ। पछिल्ला दुई दिन—हिजो र आज गरी—जिल्लाभर १८ जनाको मृत्यु भएको पुष्टि भएको छ। सबै मृतक इलाम जिल्लाका रहेका छन्।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक पोखरेलका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा बाढी र पहिरोका घटनाले जनधनमा ठुलो क्षति पुर्याएको छ।
सूर्योदय नगरपालिका–१, मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ भने माङसेबुङ गाउँपालिका–१, पाटिगाउँमा ३ जना, देउमाई नगरपालिका–५, धारेमा १ जना र त्यही वडा–५, धुसुनेमा थप २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, फाकफोकथुम गाउँपालिका–३, रातमाटेमा १ जना र इलाम नगरपालिका–५, घोसगाउँमा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ। यससँगै जिल्लाभर मृत्यु हुनेको संख्या १८ पुगेको हो।
अविरल वर्षाका कारण इलामका अन्य ठाउँहरूमा पनि ठूलो क्षति पुगेको हुन सक्ने अनुमान गरिएको छ। सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त टोली उद्धार तथा राहत कार्यमा खटिएको प्रहरीले जनाएको छ।
