आज:  | Fri, 29, May, 2026

इजरायली सेनाद्वारा हमास नेता याया सिनवरको शव पहिचान

दिशा निर्देश June 9, 2025 मा प्रकाशित (११ महिना अघि)

काठमाडौं, जेठ २६ – इजरायली सेनाले गाजामा हमासका शीर्ष नेता याया सिनवरको शव फेला परेको जनाएको छ। इजरायली डिफेन्स फोर्स (IDF) का अनुसार, गाजाको दक्षिणी सहर खान युनिसस्थित युरोपियन अस्पतालको नजिकको सुरुङ (टनेल) मा सिनवरको शव भेटिएको हो।

IDF का अनुसार डिएनए परीक्षणमार्फत शवको पुष्टि गरिएको हो। तर, हालसम्म यसबारे हमासले कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन।

४९ वर्षीय सिनवरको मृत्यु मे १३ तारिखमा भएको बताइएको छ। सोही दिन गाजाको नागरिक सुरक्षा निकायले इजरायली आक्रमणमा २८ जना नागरिकको मृत्यु भएको र दर्जनौं घाइते भएको जानकारी दिएको थियो। इजरायली सेनाले सोही सुरुङमा हमासका रफाह क्षेत्रका कमान्डर मोहम्मद साबेनहको शव पनि फेला परेको बताएको छ।

IDF अनुसार, युरोपियन अस्पतालको प्राङ्गणमा खनेर निर्माण गरिएको सो सुरुङमा हमासका नेताहरू लुकेर बस्ने गरेका थिए। इजरायली सेनाले हमासका अन्य सदस्यहरूको शव पहिचानको कार्य पनि जारी रहेको जनाएको छ।

इजरायलले हमासमाथि पूर्ण नियन्त्रण कायम गर्ने अभियान अन्तर्गत गाजामा सैन्य आक्रमण जारी राखेको छ। तर, यस क्रममा अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मी तथा उपचारका लागि जाने सर्वसाधारण समेत जोखिममा परिरहेका छन्।


सम्बन्धित खबरहरु