वीरगंज । नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउँदै ऐतिहासिक सफलता हासिल गरेको छ। थाइल्यान्डमा जारी एसिया छनोट अन्तर्गत ‘सुपर थ्री’ को पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई ५ विकेटले पराजित गर्दै एक खेल अगावै ग्लोबल छनोटमा स्थान पक्का गरेको हो।
यो जितसँगै नेपाल र थाइल्यान्डले एसियाबाट विश्वकप ग्लोबल छनोटमा स्थान बनाएका छन्। अब नेपालले मंगलबार थाइल्यान्डसँग अन्तिम खेल औपचारिकताको रूपमा खेल्नेछ।
नेपालले अन्तिम चरणको छनोटमा १० देशसँग प्रतिस्पर्धा गर्नुपर्नेछ, जसमा शीर्ष चार टोलीले विश्वकपमा स्थान बनाउने छन्।
यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले तीन बल बाँकी रहँदै ५ विकेट गुमाएर पूरा गर्यो। कप्तान इन्दु बर्माले अविजित रहँदै ३० रनको सर्वाधिक योगदान दिइन्। उनले २८ बल खेल्दै दुई चौका प्रहार गरिन्। यस्तै, रुविना क्षेत्री बेलबासेले आक्रामक प्रदर्शन गर्दै १८ बलमा तीन चौकासहित २३ रन जोडिन्।
सम्झना खड्का २१ रनमा आउट भइन् भने उपकप्तान पूजा महतोले १३ रन बनाइन्। रुबि पोद्दार ६ रनमा अविजित रहिन्। युएईका मेचेली बोथा, सुरक्षा कोत्ते, भैश्नवी महेश र ईशा ओझाले समान एक–एक विकेट लिए।
त्यसअघि बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियो। युएईकी कप्तान ईशा ओझाले सर्वाधिक ३९ रन बनाइन्। उनले ३९ बलमा दुई चौका र एक छक्का प्रहार गरिन्। ओपनर तीर्थ शतिशले २१ रन जोडिन् भने हिना होत्चान्डी र लावन्या केनीले क्रमशः २० र १२ रनको योगदान दिइन्।
नेपालकी मनीषा उपाध्याय बलिङतर्फ सर्वाधिक चार विकेट लिन सफल भइन्। उनले चार ओभरमा मात्र २० रन खर्चिएर चार विकेट लिई निर्णायक भूमिका निर्वाह गरिन्। कविता कुँवरले दुई तथा राजमती ऐरीले एक विकेट लिएकी थिइन्।
