काठमाडौं । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा अमेरिकाले स्वागत गरेको छ ।
गत हप्ताका दुःखद घटनापछि शान्ति पुनःस्थापना हुनु र समस्याको शान्तिपूर्ण समाधान हुनु सकारात्मक उपलब्धि भएको भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासले राष्ट्रपतिको हैसियतमा रहेका रामचन्द्र पौडेल र युवा नेताहरूलाई लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताप्रति सराहना गरेको छ ।
दूतावासले शान्ति बहालीमा नेपाली सेनाको भूमिका उल्लेखनीय भएको भन्दै प्रधान सेनापति अशोकराज सिग्देलको पनि प्रशंसा गरेको छ । साथै नागरिक सरकारतर्फको शान्तिपूर्ण संक्रमणमा देखिएको पहलको पनि उच्च मूल्याङ्कन गरेको छ ।
नयाँ निर्वाचनको तयारी भइरहेको सन्दर्भमा अन्तरिम सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको दूतावासले जनाएको छ ।
