आज:  | Fri, 29, May, 2026

अनेरास्ववियुद्वारा हरिखेतान क्याम्पसको पठनपाठन सुचारु गर्न माग

दिशा निर्देश October 9, 2025 मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज । नेकपा (एमाले)को भातृ संगठन अनेरास्ववियुले वीरगञ्जस्थित हरिखेतान बहुमुखी क्याम्पसको पठनपाठन तत्काल सुचारु गर्न माग गरेको छ।

बिहीबार पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियु पर्साले करिब ५० दिनदेखि अवरुद्ध क्याम्पस सञ्चालनमा ल्याउन आग्रह गरेको हो।

क्याम्पस प्रशासन र सञ्चालक समितिबीचको आन्तरिक विवादका कारण शिक्षक तथा कर्मचारीहरूले लामो समयदेखि तलबभत्ता नपाएका कारण गत भदौ १ गतेदेखि क्याम्पसको पठनपाठन अवरुद्ध रहेको छ। शिक्षक र कर्मचारीहरू तलब–भत्ताको माग गर्दै आन्दोलनरत छन् भने विद्यार्थीहरूले कक्षा सञ्चालनको माग गर्दै धर्ना र प्रदर्शन गरिरहेका छन्।

अनेरास्ववियुले बुझाएको ज्ञापनपत्रमा क्याम्पस सञ्चालक समितिका केही व्यक्तिहरूले जातीय पक्षपातका हवाला दिंदै क्याम्पसलाई विवादमा पारेर सामुदायिक सम्पत्ति र आम्दानी हडप्ने प्रयास गरेको आरोप लगाइएको छ।

अनेरास्ववियु पर्साका जिल्ला अध्यक्ष सुजित मण्डलले भने, “शैक्षिक वातावरण विथोल्ने आन्तरिक विवाद तत्काल अन्त्य गरी विद्यार्थीको भविष्यसँग खेलवाड बन्द गर्नुपर्छ।”

ज्ञापनपत्र बुझाउने टोलीमा अनेरास्ववियुका केन्द्रीय सदस्य आशिफ अहमद, जिल्ला अध्यक्ष सुजित मण्डल, सचिव पुकार सुवेदी, इकाइ अध्यक्ष अरमान आलम, महानगर सह–सचिव आमान अन्सारी, अनिल हजरा लगायत सहभागी थिए।


सम्बन्धित खबरहरु