पोखरा। गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक समारोहबीच सार्वजनिक गरिएको छ। गीतलाई डा. जसपाल पाख्रिन तामाङले प्रस्तुत गरेका हुन्।
प्रेमिल कथामा आधारित यस गीतका शब्द जसपाल पाख्रिन तामाङ र अनिता पौडेलले लेखेका हुन् भने संगीत सन्तोष बस्यालको रहेको छ। सुबिन सेन्चुरीले संगीत संयोजन र नेत्र गुरुङले निर्देशन गरेको भिडियोमा सुशन पाख्रिन तामाङ र बीनु मगरले अभिनय गरेका छन्।
भिडियोमा लमजुङको हामखोला झरना, ङादी ड्याम, उपल्लो मस्र्याङदी हाइड्रोपावर, पीस हिल रिसोर्ट, कास्कीको अस्ताम र फेवाताल क्षेत्रका दृश्यहरू समावेश छन्। भिडियोले प्रकृति र भावनाको सुन्दर मिश्रणमार्फत दर्शकलाई प्रेमको अनुभूति गराउने प्रयास गरेको छ।
कार्यक्रममा बोल्दै डा. जसपाल पाख्रिन तामाङले गीत आफ्नी श्रीमतीसँगको वास्तविक प्रेमकथाबाट प्रेरित रहेको बताए। उनका अनुसार “मायामा मायामा”ले सरल भावना र आत्मीय सम्बन्धलाई जोड्ने कथा बोकेको छ।
कार्यक्रमका प्रमुख अतिथि कवि तथा गीतकार तीर्थ श्रेष्ठले गीतको संगीत, दृश्य र भावनात्मक प्रस्तुति सबै सशक्त रहेको भन्दै प्रशंसा गरे। त्यस्तै, कन्दरा ब्याण्डका संगीतकार सुनील थापाले गीतका सबै पक्ष सशक्त रहेको बताउँदै डिजिटल प्रवर्द्धनमा जोड दिन सुझाव दिए।
गायक तथा संगीतकार सन्तोष बस्याल चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाका सचिव समेत हुन्, कलाकारितासँगै पत्रकारितामा पनि सक्रिय छन्। उनले पोखराबाट पनि उत्कृष्ट म्युजिक भिडियो बन्न सक्छ भन्ने उदाहरण यही गीतले दिएको बताए। बस्यालका अनुसार गीतलाई ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।
