वीरगञ्ज – वीरगञ्जका अधिकांस सहकारीमा नगद सकिएको छ । पैसा निकाल्न सहकारीका काउण्टर पुगेका बचतकर्ताहरु रित्तै हात फर्कनु परेको छ ।
केही सहकारीले दैनिक सीमा तोकेर पैसा दिइरहेको भए पनि यहाँका धेरै जसो सहकारीले बचतकर्तालाई रित्तै फर्काइरहेका हुन् ।
वीरगञ्जको नाम चलेका सानोपाइला, श्रीनिधी, गणेश लगायतले दैनिक १० हजारसम्म पैसा निकाल्ने सीमा तोकेर बचतकर्ताहरुलाई दिइरहेको भए पनि धेरै जसो सहकारीले बचतकर्तालाई पैसा दिन सकिरहेको छैन ।
वीरगञ्जको गहवामा रहेको प्रतिक बचत तथा ऋण सहकारी संस्थाले बचतकर्तालाई रित्तै हात फर्काइरहेको बचतकर्ताहरु बताउँछन् ।
आफूले जम्मा गरेको रकम पनि नदिँदा सहकारी भाग्ने हो कि भन्ने त्रास उत्पन्न भएको एक बचतकर्ताले बताए ।
गएको २ सातादेखि आफू दैनिक पैसा निकाल्नका लागि धाइरहेको भए पनि उक्त सहकारीले पैसा नभएको भन्दै फिर्ता पठाउने गरेको ती बचतकर्ताको भनाई छ ।
वीरगञ्जका सहकारी संस्थाहरु पछिल्लो समय गहीरो संकटमा परेको देखिएको छ । कुनै पनि सहकारी लगानी गर्ने अवस्थामा छैनन् । आफ्ना सदस्यहरु तथा पैसा राख्नेहरुलाई राखेको पैसा समेत दिन नसक्ने गम्भीर संकटमा उनीहरु पुगेका छन् ।
अहिले वीरगञ्जका सहकारीमा पैसा राख्न पुग्नेहरु देखिन छाडेको छ । तर रकम झिक्नेहरुको भने भीड हरेक सहकारीमा देखिन्छ ।
देशभरका सहकारीमा मान्छेहरु एकसाथ पैसा निकाल्न आएपछि कुनै पनि सहकारीले बचतकर्ताको मागअनुसार रकम दिन सकेका छैनन् ।
अधिकांस सहकारीका सञ्चालक तथा बोर्ड सदस्यहरुले आफूखुसी लगानी गर्दा अहिले जोखिम उत्पन्न भएको विज्ञहरु बताउँछन् ।
धेरै जसोले घरजग्गामा लगानी गरे, केहीले बैंकबाट ऋण लिएर सहकारी चलाइरहेका थिए । घरजग्गाको कारोबार सुस्ताउनु र बैंकको ऋण पनि सहजै पाउन मुस्किल भए पछि सहकारीहरुमा पैसा सकिन पुगेको हो ।
काठमाण्डौको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाले २५ हजार भन्दा बढी बचतकर्ताको रकम लिएर भागेपछि यसले देशभर समस्या निम्त्यायो । त्यसपछि बराह बचत तथा ऋण सहकारी पनि बचतकर्ताको रकम फिर्ता गर्न असमर्थ भए पछि यसले देशैभर सहकारीमा समस्या रहेको देखायो ।
भदौको सुरुवातमा नै वीरगञ्जको छपकैयाँमा सञ्चालित मानव समाज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक बचतकर्ताको १ करोड भन्दा बढी बचत रकम लिएर फरार भए पछि वीरगञ्जमा पनि यसको आगो सल्कियो ।
सहकारीमा बचत गर्नु जोखिम रहेको भन्दै वीरगञ्जमा पनि सहकारीबाट पैसा निकाल्नेहरुको भिड बढ्न पुग्यो ।
लगानीमा कडाई
यसैबीच सहकारी विभागले भने सहकारीहरुमा समस्या देखिन थालेपछि लगानीमा नै कडाइ गरेको छ ।
साउन अन्तिममा सहकारीहरुलाई निर्देशन जारी गर्दै विभागले अचल सम्पत्तिमा लगानी सकेसम्म नगर्न भनेको छ । दीर्घकालीन स्रोत सुनिश्चित नभए लगानी नै नगर्न उसले उर्दी नै जारी गर्यो ।
त्यस्तै ऋण असुली प्रक्रियालाई भने प्राथमिकतामा राख्न भनेको छ ।
पछिल्लो समय केही सहकारीले सहकारीको मूल्य मान्यता पालना नगर्ने, संस्थागत सुशासनमा नचल्ने आचरणका काम गर्दै आएकाले अहिलेको समस्या निम्तिएको विभागको भनाइ छ ।
कुनै एकले नराम्रो काम गर्दा त्यसको प्रभाव नियमसंगत चलेका सहकारीहरुमा पनि परेको हो ।
