वीरगञ्ज । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफ चरण आजदेखि सुरू हुँदैछ।
अंकतालिकाको शीर्ष दुईमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आज दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा हुने पहिलो क्वालिफायरमा आमनेसामने हुनेछन्।
अघिल्लो संस्करणको उपविजेता सुदूरपश्चिम लगातार दोस्रोपटक प्लेअफमा प्रवेश गर्न सफल भएको हो। विराटनगरले भने यसपटक इतिहास रच्दै पहिलोपटक प्लेअफमा स्थान सुरक्षित गरेको छ।
पहिलो क्वालिफायर जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ। पराजित हुने टोलीले भने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।
इलिमिनेटर खेल भोलि दिउँसो ४ बजे हुनेछ, जहाँ काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्नेछन्। इलिमिनेटरको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित टोली बाहिरिनेछ।
दोस्रो क्वालिफायर आउँदो बिहीवार निर्धारित गरिएको छ भने दोस्रो संस्करणको एनपीएलको उपाधि भिडन्त आगामी शनिवार हुने फाइनल खेलमार्फत टुंगिनेछ।
एनपीएलका ३२ मध्ये लिग चरणका १९ खेल फ्लडलाइटमा सम्पन्न भएका थिए। अब बाँकी प्लेअफका चारै खेल पनि फ्लडलाइटमै आयोजना गरिने छन्।
