आज:  | Wed, 06, May, 2026

वीरगञ्ज महानगरलाई विभिन्न संघ–संस्थाद्वारा सहयोग

Avatar photo दिशा निर्देश १७ कार्तिक २०८२, आईतवार १२:०४ मा प्रकाशित (६ महिना अघि)

वीरगञ्ज । जेनजी आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण वीरगञ्ज महानगरपालिकाको भवन र कार्यालय सामग्री पूर्ण रूपमा नष्ट भएपछि पुनः सञ्चालनमा सहजता ल्याउन विभिन्न संघ–संस्था, उद्योग–व्यवसायिक घराना तथा सामाजिक संगठनहरूले सहयोगका हात अघि बढाएका छन् ।

कार्यालय जलेर नष्ट भएपछि महानगरका दैनिक प्रशासनिक कार्यमा निकै समस्या आएको थियो । तर पछिल्ला दिनमा प्राप्त सहयोगहरूले पुनःसञ्चालनमा नयाँ ऊर्जा र उत्साह थपेको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत आज एन.पी.एल. सामाज कल्याण संस्थाले महानगरलाई सात थान कम्प्युटर डेस्कटप र तीन थान प्रिन्टर सहयोगस्वरूप उपलब्ध गराएको छ । वीरगञ्जस्थित महानगर कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका निर्देशक अरविन्द अमात्यले सामग्री हस्तान्तरण गर्दै नगरवासीका लागि हुने सेवामा सहजता ल्याउन सहयोग गर्न पाएको भन्दै खुशी व्यक्त गरे ।

त्यसैगरी, ब्रिटानिया नेपाल प्रा.लि.ले पनि आजै महानगरका लागि २० थान अफिस कुर्सी प्रदान गरेको छ । यसअघि पनि सूर्य नेपाल प्रा.लि.ले ल्यापटप, कम्प्युटर र प्रिन्टर सहयोग गरिसकेको छ भने औषधि उत्पादक संघ, वीरगञ्ज इकाईले समेत कम्प्युटर, प्रिन्टरसहितका विद्युतीय सामग्री उपलब्ध गराएको थियो ।

महानगर प्रमुख राजेशमान सिंहले कठिन समयमा साथ र सहयोग गर्ने सबै संघ–संस्था र उद्यमी समुदायप्रति आभार व्यक्त गरे । उनले भने, ‘महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो । यस्तो कठिन घडीमा साथ र सहयोगका हात अघि बढाउनु हामी सबैका लागि हौसला दिने काम हो । यसले महानगरलाई फेरि उठ्न प्रेरणा दिएको छ ।’
उनका अनुसार, प्राप्त सहयोगका सामग्रीहरू प्राथमिक रूपमा प्रशासनिक कार्य सञ्चालनका लागि प्रयोग गरिने छ । महानगरले आगामी दिनमा अन्य आवश्यक सामग्रीका लागि पनि निजी क्षेत्र र दातृ निकायसँग सहकार्य गर्ने जनाएको छ ।


सम्बन्धित खबरहरु