आज:  | Wed, 06, May, 2026

गोल्डेन हत्या प्रकरण: ‘खुनी दरिन्दे समूह’का चार जना पुर्पक्षका लागि कारागारमा

Avatar photo दिशा निर्देश १६ कार्तिक २०८२, शनिबार १७:०७ मा प्रकाशित (६ महिना अघि)

वीरगञ्ज । पर्सा जिल्ला अदालतले गत महाअष्टमीका राति वीरगन्जमा भएको दशैं मेलामा कुटपिट गरी हत्या गरिएको २० वर्षीय शिवम साह ‘गोल्डेन’को घटनामा संलग्न ‘खुनी दरिन्दे समूह’का चार जनालाई पुर्पक्षका लागि कारागारमा पठाएको छ। यसै घटनामा संलग्न अन्य दुई जनालाई धरौटीमा रिहा गरिएको छ।

गत असोज १४ गते महाअष्टमीको राति वीरगन्जको गीतामन्दिर नजिक युवाहरूको दुई समूहबीच कुटपिट भएको थियो। सो हिंसामा बाराको परवानीपुर गाउँपालिका–५ का स्थायी बासिन्दा तथा वीरगन्ज महानगरपालिका–१० बस्ने गोल्डेनको हत्या भएको थियो।

पुलिसले यस घटनामा संलग्न सात जनालाई पक्राउ गरेको थियो। पर्सा जिल्ला अदालतले शुक्रबार तीमध्ये तीन जनालाई वीरगन्ज कारागार र एक १७ वर्षीय किशोरलाई बाल सुधार गृहमा पठाउने आदेश दिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार, पुर्पक्षका लागि कारागार पठाइएका युवाहरूमा वीरगन्ज–२४ रामगढवाका १९ वर्षीय गौतम पटेल, २० वर्षीय शुभांकर चौरसिया र २२ वर्षीय अमिरी पटेल रहेका छन्। १७ वर्षीय किशोरलाई बाल सुधार गृहमा पठाइएको छ।

यस्तै, चन्दन चौरसिया र अमन पटवा अदालतले तोकेको दुई–दुई लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। भने मन्टु पटेलले ५० हजार रुपैयाँ धरौटी बुझाउन नसकेकाले उनलाई पनि कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिएका छन्।


सम्बन्धित खबरहरु