काठमाडौं। नेपालमा तीन दिनदेखि लगातार वर्षा गराइरहेको ‘मोन्था’ चक्रवात अब देशको भू–भागबाट बाहिरिएको छ। तर आज पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज वर्षा गराउने प्रणालीको असर बेलुकासम्म हट्ने छ। भोलिदेखि मौसम प्रायः खुल्ने पूर्वानुमान छ, यद्यपि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा भोलि पनि सामान्य वर्षा हुन सक्छ। पछिल्लो एक घण्टामा वागमती प्रदेशका पूर्वी क्षेत्रमा सामान्य वर्षा भए पनि अधिकांश ठाउँमा वर्षा रोकिएको महाशाखाले जनाएको छ।
मौसमविद्हरूका अनुसार भोलिदेखि मंगलबारसमम देशभरका किसानहरूले धान भित्र्याउन सहज हुनेछ। तर मंगलबार बेलुकादेखि फेरि पश्चिम नेपालमा बदली हुने सम्भावना छ, त्यसपछि क्रमशः काठमाडौंसहितका भू–भागमा पनि सामान्य वर्षा हुन सक्ने छ। यो जानकारी त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक एवम् मौसमविद् विनोद पोखरेलले दिएका हुन्।
बुधबार हिमाली क्षेत्रका उच्च भू–भागमा हिमपातको सम्भावना रहेको पूर्वानुमान छ। त्यसैले यात्रुहरूले हिमाली क्षेत्रमा पदयात्राका योजना तत्कालका लागि स्थगित गर्न उनको सुझाव छ।
नेपालमा हिउँदयाममा सामान्यतः भू–मध्य सागरबाट आएको वायुले वर्षा गराउँछ। यो वायु इरान, अफगानिस्तान, पाकिस्तान हुँदै भारतको उत्तराखण्ड पार गर्दै सुदूरपश्चिमबाट नेपाल प्रवेश गर्छ, जसको प्रभावबाट हिमाली क्षेत्रमा हिउँ पर्ने गर्छ।
यसपटक भारतको मुम्बई नजिकै अरब सागरमा विकसित न्यून चापीय प्रणालीबाट बनेका बादल गुजरात हुँदै नेपाल प्रवेश गरेका थिए। ‘मोन्था’ चक्रवात भने हिन्द महासागरको उत्तरपूर्वी भाग बङ्गालको खाडीमा विकसित भएको थियो।
हिउँदयाममा बङ्गालको खाडीबाट सक्रिय वायु विरलै नेपालमा प्रवेश गर्छ भने मनसुनमा त्यसै मार्ग हुँदै वायु नेपाल भित्रिन्छ।
