वीरगञ्ज। वीरगञ्ज महानगरपालिका-२६, सुगौली बिर्तामा आयोजित मेला महोत्सवअन्तर्गतको कुस्ती प्रतियोगिताको शुक्रबार भव्य रूपमा उद्घाटन गरिएको छ।
प्रतियोगिताको उद्घाटन संविधानसभा सदस्य तथा नेपाली काँग्रेस पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्यले एक विशेष समारोहबीच गरेका हुन्। मेला भर्खर सुरु भए तापनि कुस्तीको रोमाञ्चक प्रतिस्पर्धा अवलोकन गर्न दर्शकहरूको उपस्थितिमा निरन्तर वृद्धि भइरहेको छ।
उद्घाटन सत्रमै नेपाल र भारतका नामी पहलवानबीच प्रथम मैत्रीपूर्ण भिडन्त गराइएको थियो। भारतका चर्चित पहलवान अब्दुल गनी र नेपालको प्रतिनिधित्व गर्दै देवा थापा बीच भएको प्रतिस्पर्धाले दर्शकहरूलाई निकै रोमाञ्चित बनाएको थियो। दुवै देशका पहलवानबीचको भिडन्त प्रतिस्पर्धात्मक र आकर्षक रह्यो।
कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न नेता तथा समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो। नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रेम चन्द्र दुबे र विजय कर्ण, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव दिपेन्द्र चौहान, पत्रकार धर्मेन्द्र साह, विजय उपाध्याय, रोशन लामिछाने, मनोज यादव, मुकेश गुप्ता, मनोज गुप्ता, मनोहर साह, सञ्जय चतुर्वेदी, सन्तोष कुमार गुप्ता, गौरी शंकर गुप्ता, अगन्त चौरसिया, रूपेश साह, राहुल गुप्ता लगायतको सहभागिता देखियो।
आयोजकहरूका अनुसार कुस्ती प्रतियोगिताका थप रोमाञ्चक प्रतिस्पर्धा मेला अवधिभर निरन्तर जारी रहने छन्। यसले मेलाको आकर्षण र दर्शकहरूको उत्साह थप वृद्धि गर्ने उनीहरूको अपेक्षा छ।
