आज:  | Wed, 06, May, 2026

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न

Avatar photo दिशा निर्देश १२ कार्तिक २०८२, मंगलवार ०८:२६ मा प्रकाशित (६ महिना अघि)

वीरगञ्ज । लोक आस्था र प्रकृति पूजनको महापर्व छठ मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै विधिवत् सम्पन्न भएको छ। चार दिनसम्म कठोर निराहार–निर्जल व्रत बसेर व्रतालुहरूले सूर्यदेव र छठी माताको आराधना गरेका थिए।

‘नहाय–खाय’, ‘खरना’ र ‘सझिया घाट’का विधिहरूद्वारा सम्पन्न यो पर्वमा हजारौँ व्रतालुहरू बाँसको सुपली र माटोको ढकनीमा उखु, केरा, ठेकुवा, फलफूलसहित पूजा सामग्री लिएर जलाशय पुगेका थिए। सोमबार अस्ताउँदो सूर्यलाई र मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालुहरूले दीर्घायु, समृद्धि र सुखको कामना गरेका छन्।

घडिअर्वा पोखरी, रानीघाट, नगवा, राधेमाई र मुर्ली पोखरीलगायतका छठघाटहरू बत्ती र उखुको मण्डपले सजिएका थिए। महिलाहरूले सिउँदोमा सिन्दूर लगाएर एक–अर्काको मंगलकामना गरेपछि व्रतको समापन भएको हो।

व्रतालु करुणा बरनवालका अनुसार, “छठले अनुशासन, संयम र कृतज्ञताको शिक्षा दिन्छ।” सूर्य र प्रकृतिको आराधनाद्वारा मानव–प्रकृति सहअस्तित्व, पारिवारिक समृद्धि र सामाजिक सद्भाव सुदृढ बनाउने यो पर्व विक्रम संवत् २०४६ देखि राष्ट्रिय रूपमा मनाइँदै आएको छ।

छठले धार्मिक आस्था, सामाजिक एकता र पर्यावरण संरक्षणको सन्देश बोकेर नेपाली संस्कृतिको अभिन्न अङ्ग बनेको छ।


सम्बन्धित खबरहरु