काठमाडौं, २१ साउन — कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सामाजिक मूल्य र मान्यताविरुद्ध हुने कुनै पनि विधेयक संसदमा दर्ता नहुने स्पष्ट पारेका छन्।
मंगलबार प्रतिनिधिसभाको शून्य र आकस्मिक समयमा सांसदहरूले उठाएका जिज्ञासामा जवाफ दिँदै उनले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको बहुविवाहसम्बन्धी अड्कलबाजीप्रति आपत्ति जनाए।
‘सामाजिक संरचना र मूल्य मान्यता विघटन गर्ने खालका प्रस्तावहरू कुनै हालतमा संसदमा नल्याइनेछ,’ मन्त्री चौरसियाले सभामुख देवराज घिमिरेसमक्ष बोले, ‘यस प्रकारका विधेयक सदनमा आउने भन्ने भ्रम पूर्णतः निराधार छ।
उनका अनुसार मुलुकी अपराध संहिताका कतिपय व्यवहारिक समस्यालाई समाधान गर्न बनेको मस्यौदा अहिले मन्त्रिपरिषद्को विधेयक समितिमा विचाराधीन अवस्थामै छ। तर, केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अनुमानका भरमा व्याख्या भइरहेकाले आम जनमानसमा भ्रम र आक्रोश फैलिएको उनले बताए।
‘विधेयक सार्वजनिक नहुँदै यसबारे अड्कलबाजी हुनु दुर्भाग्यपूर्ण छ,’ चौरसियाले भने, ‘सामाजिक संरचना नै हल्लाउने गरी कुनै कानून बनाउने कुरामा कसैको सहमति हुन सक्दैन।
उनले संसदमा आएका सांसदहरूको जिज्ञासालाई मन्त्रालयले गम्भीरताका साथ लिएको जानकारी समेत दिए।
