आज:  | Tue, 05, May, 2026

सुख्खा संकटप्रति जसपाको चासो : संघीय र प्रदेश सरकारलाई ११ बुँदे ध्यानाकर्षण

Avatar photo दिशा निर्देश १९ श्रावण २०८२, आईतवार १९:५१ मा प्रकाशित (९ महिना अघि)

वीरगञ्ज, साउन १८ – मधेश प्रदेशमा फैलिँदै गएको सुख्खा र पानी संकटप्रति गम्भीर चासो व्यक्त गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा) पर्साले संघीय तथा प्रदेश सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।

जसपा पर्साका अध्यक्ष राम नरेश प्रसाद यादवको नेतृत्वमा प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालयमार्फत बुझाएको पत्रमा सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरिए पनि राहत प्याकेज नल्याउनु सरकारको “नालायकीपन” भएको आरोप लगाइएको छ।

“सरकारको काम केवल कागजी घोषणामा सीमित छ। बजेट, नीति वा कार्यक्रम केही छैन,” ध्यानाकर्षण पत्रमा भनिएको छ, “यस्तो अवस्थामा आम नागरिकको जीवन अत्यन्तै पीडादायक बन्दै गएको छ।”

पार्टीका अनुसार मधेश प्रदेशका आठै जिल्लाबाट सोही स्वरूपको ध्यानाकर्षण पत्र बुझाइएको छ।

ध्यानाकर्षण पत्रमा तत्कालीन रूपमा सिँचाइको व्यवस्था, कृषि ऋणमा छुट, मल–खादको न्यायोचित वितरण, र खानेपानीको चरम अभाव समाधान गर्न सरकारसँग माग गरिएको छ।

त्यस्तै, दीर्घकालीन समाधानका लागि चुरे क्षेत्रमा जल संरक्षण, भूमिगत जल पुनः भरणको पहल, बहुउद्देश्यीय जलाशय निर्माण, कृषि यन्त्र तथा ऋणमा अनुदान र सहुलियतको माग पनि पत्रमा समेटिएको छ।

जसपाले अवैध रूपमा चुरे क्षेत्रको दोहन गरी सञ्चालनमा रहेका क्रसर उद्योग तत्काल बन्द गर्नुपर्ने, अधुरा सिँचाइ तथा खानेपानी आयोजनाहरूलाई शीघ्र सम्पन्न गर्नुपर्नेमा समेत जोड दिएको छ।


सम्बन्धित खबरहरु