काठमाडौं, साउन १६- नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक एक वर्षपछि शुक्रबार बस्न लागेको छ। दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा सांगठनिक समीक्षा, राजनीतिक समसामयिकता र पार्टी एकताको सम्भावनाबारे गहन छलफल हुने भएको छ।
उपमहासचिव हरिबोल गजुरेलका अनुसार बैठकमा पछिल्लो समय तीव्र बनेको आन्तरिक अन्तरसंघर्ष, सांगठनिक ढाँचा, र पार्टी एकता प्रक्रिया मुख्य विषय हुनेछन्। बुधबार बसेको पदाधिकारी बैठकले स्थायी कमिटी बैठकको कार्यसूची तय गरेको थियो।
गजुरेलका अनुसार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यशैली, संसदमा माओवादी केन्द्रको भूमिका, र पार्टीको सांगठनिक दिशा र ढाँचामा सुधारबारे पनि बैठकमा छलफल हुनेछ।
त्यस्तै, एकीकृत समाजवादीलगायत विचार मिल्ने वामपन्थी शक्तिहरूसँगको सम्भावित एकता तथा सहकार्यबारे पनि पार्टी नेतृत्व स्पष्ट रणनीति तय गर्ने तयारीमा छ। “नेपालमा अग्रगामी, विचार मिल्ने वाम शक्तिहरू एकजुट हुनुपर्छ भन्ने मान्यता पार्टीको छ,” गजुरेलले बताए, “अध्यक्ष प्रचण्डले त्यसबारे छलफल अघि बढाइरहनुभएको छ, स्थायी कमिटी बैठकले यसमा ठोस आधार तयार गर्नेछ।
पार्टीभित्र बढ्दै गएको आन्तरिक असहजता र असहमतिको विषय पनि बैठकको केन्द्रमा हुनेछ। उपमहासचिव जनार्दन शर्माले सार्वजनिक रूपमा अध्यक्ष प्रचण्डको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका छन्।
उनको आरोप छ– आन्दोलन व्यवस्थित गर्नुपर्ने बेलामा अध्यक्ष स्वयंको तहबाट पार्टी विभाजनको हल्ला चलाइएको छ, र पार्टी छाड्न भनिएको समेत छ।
गजुरेलका अनुसार, “यस्ता अन्तरसंघर्ष पार्टीलाई हानी पुग्ने गरी चर्किन नदिन, यसलाई संस्थागत बहसमार्फत व्यवस्थापन गर्न आवश्यक छ भन्ने धारणा बैठकमा उठ्नेछ।
साथै, यही बैठकबाट केन्द्रीय कमिटी बैठकको मिति पनि तोकिने जनाइएको छ।
