धनुषा, १५ साउन – मधेस क्षेत्रमा बढ्दो जलसंकटको समाधानका लागि मधेस प्रदेश सरकारले कदम चालेको छ। प्रदेश सरकार अन्तर्गतको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बिहीबार जनकपुरधाममा सम्पन्न भएको हो। बैठकको अध्यक्षता गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले गरेका थिए।
बैठकमा संघीय सरकारले विपद् व्यवस्थापन सम्बन्धमा गरेका कामहरूको समीक्षा गरिनुका साथै प्रदेशको भावी रणनीति र स्थानीय तहहरूसँगको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्री लेखीले जानकारी दिए।
बैठकमा हालै गृह मन्त्रालयमार्फत खरिद गरिएका आठवटा दमकलमध्ये ६ वटा स्थानीय तहलाई हस्तान्तरण गरिने निर्णय गरिएको छ। ती दमकललाई खडेरीबाट प्रभावित क्षेत्रहरूमा खानेपानी आपूर्तिका लागि प्रयोग गरिनेछ। बाँकी दुई दमकल हाल सप्तरी र पर्सा जिल्लामा परिचालित छन्।
त्यसैगरी, संघीय सरकार तथा विभिन्न दातृ निकायहरूबाट प्राप्त स्रोतसाधनलाई खानेपानी तथा सिँचाइ क्षेत्रमा प्रयोग गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय समेत गरिएको छ।
बैठकले जिल्लास्तरीय विपद् व्यवस्थापन समिति, प्रदेश मन्त्रालयहरू र अन्य सरोकारवाला निकायहरूबीच समन्वय बढाउने, निर्देशन दिने र कार्यान्वयनलाई गति दिने निर्णय पनि गरेको छ।
साथै, नेपाली सेनाले शान्ति मिसनबाट ल्याएका १७ वटा पानी ट्याङ्कर र एउटा विस्फोटक निष्क्रियकरण (बम डिस्पोजल) गाडीलाई अस्थायी दर्ताका लागि श्रम तथा यातायात मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको छ।
मन्त्री लेखीका अनुसार मधेस प्रदेशमा जलसंकट र विपद् व्यवस्थापनलाई दिगो र प्रभावकारी बनाउने उद्देश्यले आगामी दिनमा थप योजनाहरू कार्यान्वयनमा ल्याइनेछ। बैठकमा नेपाली सेनालगायत विभिन्न मन्त्रालय र निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।
