आज:  | Tue, 05, May, 2026

सुख्खाग्रस्त तराई–मधेसमा खानेपानीको तत्काल व्यवस्था गर्न सरकारलाई निर्देशन

Avatar photo दिशा निर्देश १६ श्रावण २०८२, बिहीबार १६:२१ मा प्रकाशित (९ महिना अघि)

काठमाडौं, १५ साउन – राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले तराई–मधेसका सुख्खाग्रस्त क्षेत्रमा खानेपानीको तत्काल व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले मधेस क्षेत्रका प्रभावित बासिन्दाका लागि आवश्यक बजेट व्यवस्था गरी तत्काल खानेपानीको आपूर्ति सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

समिति सभापति कमला पन्तका अनुसार, बैठकले देशका अन्य क्षेत्रहरूमा देखिएको खानेपानी समस्याको समाधानका लागि पनि तत्काल कदम चाल्न निर्देशन दिएको छ। त्यस्तै, मधेस प्रदेशसहित मुलुकभर दीर्घकालीन समाधानका उपाय खोज्न सांसद उर्मिला अर्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको उनले जानकारी दिइन्।

बैठकमा सहभागी समिति सदस्यहरूले खानेपानी जनताको आधारभूत आवश्यकता भएकाले यसको आपूर्ति सुनिश्चित गर्न सरकार जिम्मेवार बन्नुपर्ने धारणा राखेका थिए। सदस्य नारायणकाजी श्रेष्ठले खानेपानीको उचित व्यवस्थापनमा सरकार अझै गम्भीर नदेखिएको टिप्पणी गरे।

समिति सदस्य बामदेव गौतमले चुरे क्षेत्रलाई मात्र खानेपानी अभावको कारण देखाउनु उपयुक्त नहुने बताए। “सरकार सक्रिय भएर लागेमा मधेसमा खानेपानी अभाव रहँदैन,” उनले भने।

बैठकमा खानेपानी मन्त्रालयका अधिकारीहरूले सहज आपूर्तिका लागि बजेट व्यवस्थापन र अन्य आवश्यक सहजीकरणको आवश्यकता रहेको धारणा व्यक्त गरेका थिए।


सम्बन्धित खबरहरु