आज:  | Tue, 05, May, 2026

प्रधानमन्त्री ओलीको आज संसदमा विशेष सम्बोधन

Avatar photo दिशा निर्देश ८ श्रावण २०८२, बुधबार ०९:५६ मा प्रकाशित (९ महिना अघि)

काठमाडौँ, साउन ७ – प्रधानमन्त्री केपी शर्मा ओली आज प्रतिनिधिसभामा विशेष सम्बोधन गर्ने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार संसदमा नियमित रूपमा हुने प्रश्नोत्तर सत्रअघि प्रधानमन्त्री ओलीले सरकारको कामकाज, राजनीतिक अवस्था र प्रतिपक्षी दलले उठाएका मुद्दाहरूमा धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएअनुसार, प्रधानमन्त्री ओलीको सम्बोधनमा हालै प्रतिपक्षी दलका नेताहरूले संसदमा उठाएका विषयहरूको जवाफसमेत समेटिनेछ।

संघीय संसद्को प्रतिनिधिसभा बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। विशेष सम्बोधनपछि प्रधानमन्त्री ओलीले सांसदहरूले सोधेका प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभाबाट उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौता’ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव संसदमा प्रस्तुत गर्ने सम्भावना रहेको संसद सचिवालयले जनाएको छ।


सम्बन्धित खबरहरु