काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ। सोमबारदेखि काठमाडौंको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठक आज समापन गर्ने तयारीमा छ।
बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी रहेको छ। प्रत्येक केन्द्रीय सदस्यलाई तीन–तीन मिनेट बोल्ने समय दिइएको छ। बैठकमा अधिकांश सदस्यहरूले सचिवालय र पोलिटब्युरो बैठकबाट आएका प्रस्तावहरूमा सहमति जनाएका छन्।
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी प्रवेशको विषयले विशेष चासो पाएको छ। केन्द्रीय सदस्यहरूको ठूलो संख्याले भण्डारीको एमाले प्रवेशबारे यही बैठकबाट ठोस निर्णय लिन पार्टी नेतृत्वलाई दबाब दिएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा जारी बैठकमा संगठन सुदृढीकरण, आगामी राजनीतिक कार्यक्रम र राष्ट्रिय राजनीति सम्बन्धी विषयमा छलफल भइरहेको छ। आजको बैठकबाट केन्द्रीय निर्णयहरू सार्वजनिक गरिने सम्भावना छ।
