वीरगञ्ज – कृषि सामग्री कम्पनी लिमिटेडले वीरगञ्ज महानगरका कृषकका लागि मलको कोटा बृद्धि गर्ने तयारी गरेको छ ।
वीरगञ्ज १६ इनरुवाको भुटनदेवी स्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट लोड भएर निस्केको ६ ट्रक मल स्थानीय कृषकले नियन्त्रणमा लिएपछि वीरगञ्ज महानगरका कृषकका लागि मलको कोटा बढाउने तयारी गरेको हो ।
कृषकले मल लोड गरिएको ट्रक नियन्त्रणमा लिएपछि घटनास्थल पुगेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको पहलमा यहाँका कृषकका लागि कोटा वृद्धि गर्न लागिएको बुझिएको छ ।
कृषकले लोड गरेको मल महानगरले आफ्नो नियन्त्रणमा लिएर बालमन्दिर प्राङ्गणमा राखेपछि कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय वीरगञ्जका प्रमुख चन्द्रप्रकाश चौलागाई सहितको टोलीसँगको छलफलमा कोटा वृद्धि गर्ने तयारी थालेको हो ।
महानगरका मेयर सिंहले यहाका कृषकका लागि आवश्यक मल उपलब्ध नगराएसम्म ट्रक नछाड्ने बताएपछि कोटा बढाउन कृषि सामग्री लिमिटेड तयार भएको हो ।
आफूहरुले माथिल्लो निकायसँग कोटा बृद्धिको अनुमतिका लागि कुरा गरेको कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय वीरगञ्जका प्रमुख चन्द्रप्रकाश चौलागाईले बताए ।
प्रदेस कृषि मन्त्री र प्रदेस कृषि विभागका महानिर्देशक सँग अनुमति लिएर यहाँका कृषकको माग बमोजिम मल उपलब्ध गराउन पहल गर्ने उनले बताए ।
वीरगञ्ज महानगरले यहाँका कृषकका लागि ८ हजार मेट्रिकटन मल आवश्य रहेको भए पनि कृषि सामग्री कम्पनी लिमिटेडले जम्मा ८ सय मेट्रिकटन मात्रै उपलब्ध गराउने कोटा निर्धारण गरेको छ ।
माग अनुसार न्यून मल आउदा कृषकलाई वितरण गर्न समेत महानगरलाई सकस भइरहेको थियो ।
