वीरगञ्ज – हिन्दु धर्मावलम्बीहरुको महान् पर्व विजय दशमी शुरु हुनु पूर्व सन्ध्यामा वीरगञ्ज युवा समाजले ५ हजार मास्क वितरण गरेको छ ।
चाडवाडको समयमा भिडभाड हुँदा कोरोना भाइरसको संक्रमण हुने जोखिम बढेको भन्दै सचेतना फैलाउने अभिप्रायले मास्क वितरण गरिएको समाजका अध्यक्ष कमल चौगाईले बताए । मास्क सम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले मास्क बिना प्रवेश र सेवा निषेध गरिएको बताए ।
मास्कको प्रयोग गरेर सुरक्षित हुन आग्रह गर्दै नगरप्रमुख सरावगीले अरुलाई पनि मास्क लगाउन अभिप्रेरित गर्नुपर्नेमा जोड दिए । त्यसैगरी उपप्रमुख शान्ति कार्कीले मास्क नलगाउनेलाई मन्दिरसहितका धार्मिक स्थलहरुमा पनि प्रवेश गर्न नदिने बताईन् ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले मास्कको अपरिहार्यतालाई नजरअन्दाज नगर्न सुझाव दिए । चाडवाडमा भिडभाड बढ्दा संक्रमणको जोखिम हुने भन्दै सर्तकता अपनाउनुका साथै भरसक आफ्नै घरभित्रै बसेर चाड मनाउन उनले आग्रह गरे । सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले सुरक्षालाई प्राथमिकता दिएर चाडवाड मनाउनुपर्ने बताए ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्की, वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष जगत साह कानु, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, प्रेस काउन्सिलका सदस्य लालबाबु शेख, प्याब्सन पर्साका सचिब छेदुप लामा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण सञ्चारकर्मी सूर्यनारायण वि.क.ले गरेका थिए ।
