आज:  | Tue, 05, May, 2026

स्वास्थ्य मन्त्री बन्ने डा. मिश्राको सम्भावना टर्यो, अब चार मन्त्री मात्र शपथ लिँदै

Avatar photo दिशा निर्देश ६ आश्विन २०८२, सोमबार १५:०७ मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्री बनाउन चाहेका डाक्टर संगीता कौशल मिश्राको नाम अन्तिम समयमा काटिएको छ । कर्मचारी जीवनमा रहँदै अनेक विवादमा मुछिएकी उनको नाम जेन-जी युवाको कडा विरोधपछि हटाइएको हो ।

अब सोमबार दिउँसो शीतल निवासमा ४ जना मात्र मन्त्रीले शपथ लिन लागेका छन् । उद्योग मन्त्रीमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रीमा आविष्कारक महावीर पुन, कृषि मन्त्रीमा मदन परियार र सञ्चार मन्त्रीमा पत्रकार जगदीश खरेललाई शपथ दिलाइनेछ ।

शपथको समय सुरुवाती रूपमा दिउँसो २ बजे तोकिएको भए पनि मिश्राको नाम हटाउने निर्णयसँगै ३ बजे सारिएको छ । खरेलले भने आफू कार्यरत इमेज टेलिभिजनबाट बिदाइ कार्यक्रम लिएरै बाहिरिइसकेका छन् ।

डा. मिश्राको नाम आइतबार मात्र स्वास्थ्य मन्त्रीका लागि फाइनल भएको थियो । त्यसअनुसार उनले सरकारी जागिरबाट राजीनामासमेत दिएकी थिइन् । तर, विगतमा उनी भ्रष्टाचारलगायतका मुद्दामा मुछिएकी थिइन् भन्ने कारण देखाउँदै जेन-जी आन्दोलनसँग आबद्ध युवाहरूले खुलेरै विरोध जनाए ।

यसअघि तत्कालीन मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सचिवमा विकास देवकोटालाई नियुक्त गरेपछि आफूलाई भन्दा कनिष्ठलाई प्राथमिकता दिएको भन्दै असन्तुष्ट रहेकी मिश्राले ६ महिनासम्म कार्यालय नआई बिदा बसिन् । भदौ २३ गतेको आन्दोलनमा १९ जना जेन-जी युवाको मृत्यु भएपछि पौडेलले राजीनामा दिए, त्यसपछि मात्रै उनी मन्त्रालय फर्किएकी थिइन् ।

स्वास्थ्य मन्त्रालयमा रहँदा तत्कालीन मन्त्री मोहन बस्नेतको पालामा भएको अर्बौँको स्वास्थ्य सामग्री खरिद घोटालामा समेत उनको नाम जोडिएको थियो । यही कारण उनलाई मन्त्री बनाउन नहुने आवाज अझै चर्किएको हो ।

प्रधानमन्त्री कार्कीले बनाएको अनौपचारिक कार्यदलले पनि जेन-जी आन्दोलनको भावना र उत्पन्न विवादलाई मध्यनजर गर्दै मिश्राको नाम फिर्ता लिन सुझाएको बताइएको छ ।

यसबीच, कानुन मन्त्रीका लागि प्रस्तावित अनिल सिन्हाको नाम भने कायमै छ । यद्यपि संविधानमै न्यायाधीशलाई मन्त्री बन्न नहुने प्रावधान भएकाले उनको नियुक्ति असंवैधानिक हुने आशंका प्रकट भइरहेको छ ।


सम्बन्धित खबरहरु