वीरगञ्ज – सामाजिक क्रियाकलापहरुमा सक्रिय वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईलाई वीरगञ्ज कलेजले सम्मान गरेको छ ।
कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा कोभिड १९ को महामारीदेखि हरेक समयमा सामाजिक कार्यमार्फत समाजका लागि पुर्याएको योगदानको कदर गर्दै कलेजले सम्मान गरेको हो ।
वीरगञ्ज कलेज प्रा.लि.का अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा आयोजित स्वागत कार्यक्रमका प्रमुख अतिथी वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
सम्मान ग्रहणपश्चात कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौगाईले परिवर्तनका संवाहक भनिने युवाहरुको जमात सामाजिक क्षेत्रमा सक्रिय हुनुपर्नेमा जोड दिए । हरेक सामाग्रीको डेट एक्सपाएर हुने जस्तै अब पुराना नेताहरुको डेट एक्सपाएर भएको बताउँदै अध्यक्ष चौगाईले पुराना नेताहरुको अनुभव र नयाँ सृजनशिल युवाहरुको क्षमता र ज्ञानका आधारमा सरकार सञ्चालन गर्ने बेला आएको बताए ।
फलस्वरुप आगामी निर्वाचनमा युुवाहरुको सहभागिता बढाउनुपर्ने चौगाईको भनाई छ । कार्यक्रममा युवा नेता ओमप्रकाश सर्राफ, दलित सशक्तिकरणमा योगदान दिएको भन्दै पत्रकार बृजलाल पासवानलाई पनि सम्मानित गरिएको थियो ।
