काठमाडौं — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बैठकमा बोलाएका छन्। सभामुखको सचिवालयका अनुसार बैठक आइतबार बिहान ९ बजे सिंहदरबारमा बस्नेछ।
बैठकमा संसदको वार्षिक कार्यतालिका (क्यालेन्डर) लगायतका विषयमा छलफल हुने जनाइएको छ। साथै, पछिल्ला दिनमा संसदमा जारी अवरोधका कारण बजेटमाथिको छलफल अघि बढ्न नसकेको परिस्थितिबारे पनि बैठकमा गहन छलफल हुने बताइएको छ।
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दलहरू बजेट अधिवेशनको कार्यसूचीमा अवरोध गरिरहेका छन्। सभामुख घिमिरेले संसदको प्रक्रिया सहज रूपमा अघि बढाउनका लागि नियमित रूपमा दलका प्रमुख प्रतिनिधिहरूसँग संवाद जारी राखेका छन्।
आजको बैठकले संसदको गतिरोध अन्त्यका लागि सहमतिको बाटो खुलाउने अपेक्षा गरिएको छ।
