आज:  | Tue, 05, May, 2026

संघ सरकारले वीरगञ्जलाई जहिल्यै उपेक्षा गर्‍यो : मेयर सिंह

Avatar photo दिशा निर्देश २१ जेष्ठ २०७९, शनिबार १५:०७ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जको विकासमा संघ सरकारले उपेक्षा गरेको आरोप लगाएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघको ४६ औँ साधारणसभालाई सम्बोधन गर्दै उनले केन्द्र सरकारले चालु वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट कम पठाएको भन्दै संघ सरकारले वीरगञ्जलाई उपेक्षा गरेको बताएका हुन् ।

संघ सरकारले वीरगञ्जबाट सबैभन्दा धेरै राजश्व लिएर जाने तर विकासका लागि भने न्यून बजेट दिने गरेकाले यहाँको विकास हुन नसकेको दावी गरे ।
‘सबैभन्दा धेरै राजश्व उठाउने ठाउँलाई नै उपेक्षा गरिएको छ, हेपाहा व्यवहार गरिएको छ,’ सिंहले भने, ‘संघ सरकारकै नियतका कारण वीरगञ्जको विकास हुन नसक्ने देखियो ।’

साथै सिंहले बीरगन्जमा रहेको चिनी कारखाना र कृषि औजार कारखानालाई जहिल्यै पनि संघ सरकारले चलाउँछु भनेर बजेटमा उल्लेख गर्ने गरेको भए पनि अझैसम्म संचालनमा ल्याउन भने कुनै पहल नगरेको प्रति खेद व्यक्त गर्नु भयो ।

दुबै कारखाना सञ्चालनमा आए यहाँका युवाहरुले रोजगार पाउने र विदेश जानबाट रोकिने उनको धारणा थियो ।

वीरगञ्जका उद्योगी व्यापारी मिलेर मिल चलाउन अघि बढ्न पनि उनले आग्रह गरे । वीरगञ्जमा औद्योगिक करिडोरहरु रहेपनि उद्योग सञ्चालनका लागि सहयोग नगरि सरकारले राजस्व उठाउने काम मात्रै गरेको आरोप लगाए ।


सम्बन्धित खबरहरु