आज:  | Tue, 05, May, 2026

वीरगन्ज महानगरको कार्यपालिका सदस्यमा जसपा र काँग्रेस गठबन्धनका उम्मेद्वार दाेब्बर मतान्तरले विजयी

Avatar photo दिशा निर्देश २० जेष्ठ २०७९, शुक्रबार २०:०४ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा सत्तारुढ गठबन्धन कांग्रेस र जसपाका उम्मेद्वार दाेब्बरभन्दा बढी मतान्तरले विजयी भएका छन् ।

महानगरपालिकाको कार्यापालिकाका ८ सदस्य चयनका लागि शुक्रबार भएको निर्वाचनमा ८ वटै सदस्य पदमा जसपा र नेपाली काँग्रेसको गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन् । जसपा र काँग्रेसले ४-४ जना सदस्य भाग लगाएर उम्मेद्वारी दिएका थिए ।

महानगर कार्यपालिको दलित वा अल्पसंख्यक सदस्यमा गठबन्धनबाट काँग्रेसका कन्हैया प्रसाद, जसपाका खैरुद्धिन मिया धोबी र निरन्जन प्रसाद सोनार निर्वाचित भएका हुन् ।

कन्हैयाले १०७, धोेबीले १०८ र सोनारले ११० मत प्राप्त गर्दै विजयी भए ।

निकटतम प्रतिष्पर्धी एमाले लोसपा गठबन्धनबाट एमालेका उम्मेदवार अजय कुमार गुप्ताले भने ४७,ओम प्रकाश साहले ४८ र राजकिशोर गुप्ताले पनि ४८ मत मात्रै पाए ।

५ महिला सदस्यमा पनि गठबन्धनबाट काँग्रेसकी कनिका कौशीक, नितु कुमारी राम र राधादेवी कार्की तथा जसपाबाट कलावती देवी राजपुतिन र रबुलसन खातुन विजयी भएका छन् ।

महिला सदस्यमा निर्वाचित कौशीकले १०९, रामले १११ , कार्कीले १०९, राजपुतिनले ११३ र खातुनले ११४ मत पाएकी हुन् ।

निकटतम प्रतिष्पर्धामा रहेकी एमालेकी अमरी देवी चमारले ४५, कान्ति देवीले ४५, मन्जु देवीले ४६ र संगीता देवीले ४६ तथा लोसपाकी पतिया देवीले ४३ मत मात्रै पाएकी छन् ।

जिल्ला समन्वय समिति परिसरमा शुक्रबार बिहान १० बजे देखि दिउँसो २ बजेसम्म चलेको मतदानममा १६२ मतदाता मध्ये १५९ जनाले मात्रै मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

५ महिला र ३ दलित वा अल्पसंख्यक सदस्य गरि कुल ८ सदस्य पदका लागि भएको निर्वाचनमा महानगरमा निर्वाचित मेयर, उपमेयर, ३२ वटै वडाका वडा अध्यक्ष र वडा सदस्यले मतदान गरेका थिए ।

शुक्रबार भएको मतदानमा जसपाका ३ जना जनप्रतिनिधी भने सहभागी नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसपाबाट निर्वाचित ३ जना जनप्रतिनिधी, मकवानपुरमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परि घाइते भइ अस्पतालमा उपचाररत रहेकाले उनिहरु मतदानमा सहभागी हुन नसकेका हुन् ।

महानगरमा शुक्रबार भएको कार्यपालिका सदस्य निर्वाचनमा जसपा र नेपाली काँग्रेसले गठबन्धन गरेका थिए भने नेकपा एमालेले र लोसपाले पनि छुट्टै गठबन्धन गरेर उम्मेदवारी दिएका थिए । ८ सदस्य पदका लागि १६ जनाको उम्मेदवारी परेको थियो ।

बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरमा जसपा र काँग्रेसले मेयर र उपमेयरमा गठबन्धन गरेका थिए ।

महानगरमा मेयर जसपाले, उपमेयर काँग्रेसले, १३ वटा वडा अध्यक्ष जसपाले, ९ वटा वडामा वडा अध्यक्ष काँग्रेसले, ८ वटा वडामा वडाअध्यक्ष एमालेले र २ वटा वडामा वडा अध्यक्ष लोसपाले जितेको छ ।


सम्बन्धित खबरहरु